सर्लाहीमा होस नारायण राय यादव हत्या अभियाेगमा एकजना  पक्राउ,बुबा र भिनाजुलाई फसाउन हत्या गरेकाे स्वकाराेक्ति ।

मलंगवा, सर्लाही – सर्लाहीको बसवरिया गाउँपालिका–१ मानपुरका ५३ वर्षीय होस नारायण राय यादवको हत्या प्रकरणमा प्रहरीले सन्तोष कुमार रायलाई पक्राउ गरेको छ।
‎
‎जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार असार ७ गते आफ्नै घरमा सुतिरहेका होस नारायण राय यादवमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा नगर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको घाँटीको दाहिने पट्टि गहिरो चोट रहेको प्रहरीले जनाएको छ।
‎
‎घटनालगत्तै इलाका प्रहरी कार्यालय मानपुर, इलाका प्रहरी कार्यालय बरहथवा, जिल्ला प्रहरी कार्यालय सर्लाही, प्राविधिक (IT) टोली तथा मधेश प्रदेश प्रहरी कार्यालयको K9 (डग) टोली परिचालन गरी अनुसन्धान अघि बढाइएको थियो। घटनास्थल वरपरका CCTV फुटेज, CDR, BTS तथा अन्य प्राविधिक विश्लेषणका क्रममा मानपुरकै सन्तोष कुमार रायमाथि शंका उत्पन्न भएको प्रहरीले जनाएको छ।
‎
‎अनुसन्धानका क्रममा घटनाको राति वारदातस्थलबाट करिब २००–३०० मिटर टाढाबाट चोरी भएको ना ४५ प २६८५ नम्बरको निलो ग्ल्याम्बर १२५ सीसी मोटरसाइकल सन्तोषले प्रयोग गरी घटनास्थल पुगेको पुष्टि भएको प्रहरीको दाबी छ। उक्त मोटरसाइकल पछि लालबन्दी नगरपालिका–२ नवलपुरस्थित निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेको थियो।
‎
‎त्यसपछि तीव्र खोजी अभियान सञ्चालन गरी प्रहरीले  बरहथवा बजारबाट सन्तोष कुमार रायलाई पक्राउ गरेको जनाएको छ।
‎
‎प्रहरीका अनुसार प्रारम्भिक सोधपुछमा सन्तोषले हत्या गरेको स्वीकार गरेका छन्। उनले वारदातका लागि मोटरसाइकल चोरी गरेको, घटनापछि सोही मोटरसाइकलमा भागी बेवारिसे अवस्थामा छाडेको तथा विभिन्न स्थानमा लुकीछिपी बसेको बयान दिएका छन्। वारदातमा प्रयोग गरिएको हसिया बरहथवा नगरपालिका बिनमा टोल नजिक खेतमा फालेको बताए पनि उक्त हतियार हालसम्म बरामद हुन सकेको छैन।
‎
‎प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाको अघिल्लो दिन मृतकसँग मोबाइलको विषयमा विवाद भएको र बाबुले आफूलाई पैसा नदिने तथा सुधार केन्द्रमा राख्ने धम्कि दिएकाे  कुराले रिसको आवेगमा आफनाे बुबा र भिनाजुलाई हत्या अभियाेगमा फसाउन आफुले हत्या गरेको बयान सन्तोषले दिएका छन्। प्रहरीका अनुसार सन्तोषलाई यसअघि पनि खराब आचरणका कारण परिवारले सुधार केन्द्रमा राखिएको खुलेको छ।
‎
‎सन्तोष कुमार रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *