मलङ्गवा, सर्लाही सर्लाहीको सदरमुकाम मलङ्गवा र आसपासका बजारहरूमा यतिबेला विषादी प्रयोग गरेर पकाइएका आँपको बिगबिगी बढेको छ। सिजनको सुरुवातमै बजारमा देखिएका आकर्षक र पहेंला आँप प्राकृतिक रूपमा नभई घातक रसायनको प्रयोग गरेर पकाइने गरेको पाइएको छ।
स्थानीय उपभोक्ताहरूका अनुसार बजारमा पाइने अधिकांश आँप हेर्दा आकर्षक देखिए पनि स्वादिलो छैनन्। व्यापारीहरूले बढी नाफा कमाउने र चाँडो बिक्री गर्ने उद्देश्यले काँचो आँपमा ‘क्याल्सियम कार्बाइड’ (मसला) जस्ता प्रतिबन्धित एवं हानिकारक रसायन मिसाएर पकाइरहेका छन्।
काँचो आँपलाई रसायन हालेर जबरजस्ती पकाउँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्। स्थानीय स्वास्थ्य स्वास्थ्यकर्मीका अनुसार विषादीयुक्त आँप सेवन गर्दा तत्काल र दीर्घकालीन रूपमा समस्याहरू देखिन सक्छ ,जसले गर्दा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने र चक्कर लाग्ने आदि हुन सक्छ । लगातार यस्ता फलफूलको सेवनले कलेजो र मिर्गौलामा गम्भीर क्षति पुग्नुका साथै क्यान्सर जस्तो घातक रोगको जोखिम समेत बढाउँछ। बजारमा यसरी खुलेआम विषादीयुक्त फलफूल बिक्री भइरहँदा पनि सम्बन्धित निकाय र स्थानीय प्रशासनले प्रभावकारी अनुगमन नगरेको गुनासो स्थानीय बासिन्दाको छ। प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नहुँदा उपभोक्ताहरू कुन आँप स्वस्थ छ र कुन विषादीयुक्त छ भन्ने कुरा छुट्याउन नसकेर अलमलमा परेका छन्।
डा. रामप्रवेश रायले आँप किन्दा धेरै चम्किलो, एउटैनासले पहेंलो भएको र दाग नभएको आँप रसायन प्रयोग गरिएको हुन सक्ने बताउदै आँप खानुअघि कम्तीमा आधा घण्टा सफा पानीमा भिजाएर, राम्रोसँग धोएर र बोक्रा बाक्लो गरी ताछेर मात्रै खानु सुरक्षित हुने बताए।
नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड भइरहेकाले मलङ्गवा नगरपालिका र जिल्ला प्रशासन कार्यालयले तत्काल बजार अनुगमन गरी दोषी व्यापारीहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

