निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

सर्लाही, फागुन ७ — सर्लाहीको मलंगवा नगरपालिकामा निर्माणाधीन मन्दिरभित्र भेटिएको पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन्।
‎जिल्लाको मलंगवा नगरपालिका–४ ढाँका बाेडर नजिक  बस्ने रामविश्वास रामका छोरा करिब १५ वर्षीय आकाश राम  घाइते भएका हुन्। घरदेखि करिब १०० मिटर पूर्वतर्फ निर्माणाधीन हनुमान मन्दिरको कुनामा रातो कपडाले बेरेर राखिएको वस्तु खोलेर हेर्दा पेस्तोल फेला परेको थियो।
‎उक्त पेस्तोल नक्कली भएको ठानी चलाउने क्रममा अचानक पड्किँदा आकाशको दाहिने हातको पन्जामा गोली लागेको प्रहरीले जनाएको छ।
‎घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही बाट प्रहरी नायव उपरीक्षक सरोज राईको कमाण्डमा टोली खटिएको थियो। घाइते आकाशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको छ।
‎प्रहरीले घटनास्थलबाट थान–१ पेस्तोल बरामद गरेको छ भने पड्किएको खोका पेस्तोलमै अड्किएको अवस्थामा फेला परेको जनाएको छ। उक्त स्थान अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट करिब १ किलोमिटर पूर्व तथा जिल्ला प्रहरी कार्यालयबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्दछ।
‎घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *